अनुसूची १
अन्तर्राष्ट्रिय विकास एसोसिएशन प्रस्ताव नं. १५ नेपाललाई एसोसिएशनको सदस्यता
एसोसिएशन सम्झौताको धारा (यसपछि धारा भनिएको) २ को दफा १(६) बमोजिम नेपाल सरकार, नेपालले अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सदस्यताको लागि निवेदन दिएको, र
एसोसिएशनको वाइलजको दफा ९ बमोजिम कार्यकारी सञ्चालकहरुले, नेपालका प्रतिनिधिहरुसंग परामर्श गरी यस निवेदनपत्र बारे गर्भनरहरुको बोर्डमा सिफारिश पेश गरेकोले,
गभर्नरहरुको बोर्डले देहायका शर्त र अवस्थाहरुमा नेपाललाई एसोसिएशनको सदस्यतामा प्रवेश गराउने प्रस्ताव गरेकोछः–
(क) यस प्रस्तावमा स्पष्ट उल्लेख गरिएदेखि बाहेक नेपालले एसोसिएशनको सदस्यता प्राप्त गर्ने अरु शर्त र अवस्थाहरु धाराहरु साथ रहेको अनुसूची (क) को भाग २ मा उल्लेखित शुरुका सदस्यहरुको सदस्यतासम्बन्धी धाराहरुमा तोकिएबमोजिम (कुनै कटौती गर्ने उद्देश्यले नभै चन्दाको भुक्तानी, मुद्राको उपयोगिता र मत दिने अधिकारसम्बन्धी शर्त र अवस्थाहरु समेत जनाउने गरी) हुनेछ ।
(ख) एसोसिएशनको सदस्यता स्वीकार गरेपछि जनवरी १, १९६० मा भएको तौल र शुद्धताको संयुक्त राज्यको डलरको मूल्य बराबर जम्मा डलर ५,००,००० बराबरको मूल्य चन्दा स्वरुप नेपालले बुझाउनु पर्नेछ ।
(ग) एसोसिएशनको सदस्यता स्वीकार गर्नुभन्दा पहिले धाराहरुको अनुसूची (क) को भाग २ मा उल्लेखित शुरु सदस्यहरु सरह एसोसिएशनको सदस्य हुनाले नेपालले सदस्यता स्वीकार गरेको वा गर्नुभन्दा अघिको मितिमा बुझाउनु पर्ने शुरु चन्दाको सबै रकम भुक्तानी दिनु पर्नेछ ।
(घ) नेपालले सन १९६२ नोभेम्बर ५ सम्ममा यो प्रस्तावबमोजिम एसोसिएशनको सदस्यता स्वीकार गर्न सक्नेछ, तर असाधारण परिस्थितिले गर्दा सो प्रस्तावबमोजिम सदस्यता स्वीकार गर्न सक्ने अरु अवधि बढाउनु पर्ने भनी कार्यकारी सञ्चालकहरुले देखेमा सो अवधिलाई बढाउन सक्नेछ ।